नेपालको महिला राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप २०२५ को छनोटमा उत्कृष्ट प्रदर्शन गर्यो । तर टोलीका मुख्य प्रशिक्षक, बेल्जियमका यूईएफए प्रो-लाइसेन्स होल्डर प्याट्रिक डे वाइल्ड, व्यवस्थापनसँग निकै असन्तुष्ट छन् । उज्वेकिस्तानबाट फर्किएका उनले स्पष्ट भने “नेपालमा म खेलाडीका लागि आएको हुँ, एन्फाको अव्यवस्थाका लागि होइन ।
उनले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यशैलीमा गम्भीर प्रश्न उठाउँदै टिम व्यवस्थापन, पूर्वाधार, प्रविधिको अभाव र राजनीतिक हस्तक्षेपका कारण प्रशिक्षण र प्रदर्शनमा बाधा पुगेको बताए । उनले बोले– “खेलाडीहरूले अद्भुत खेल प्रदर्शन गरे, तर व्यवस्थापनले तिनीहरूलाई राम्रो होटल, खाना र आइससम्म नदिएर अपमान गर्यो । म स्वतन्त्र रूपमा काम गर्न चाहन्छु, यदि त्यसो भएन भने म अब फर्कन्न ।
डे वाइल्डले नेपाली टिमसँग गहिरो भावनात्मक सम्बन्ध भएको भन्दै कप्तान चयनदेखि प्रशिक्षण किट्ससम्म, तलब र सम्मानको विषयदेखि राजनीतिक दबाबसम्म सबै बारे खुलेर गुनासो गरे । “म पैसा कमाउन नेपाल आएको होइन, खेलाडीहरूको भविष्य बनाउन आएको हुँ,” उनले भने, “तर एन्फाले योजनाभन्दा राजनीति रोज्यो । सुधार भए मात्रै म फर्कन्छु – त्यो पनि नेपाली महिला फुटबलको रूपान्तरणका लागि ।