इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनसीप क्यानाडा (आइआरसीसी) ले अध्ययन अनुमति आवेदनका लागि आवश्यक पर्ने आर्थिक आधारको प्रमाण (प्रुफ अफ फिनान्सियल सपोर्ट) को रकम अद्यावधिक गर्दै यो जानकारी दिएको हो। एक व्यक्तिको परिवारका लागि अब पहिलो वर्षको शुल्क र यात्रा खर्च बाहेक न्यूनतम रकम २० हजार ६३५ डलरबाट बढाएर २२ हजार ८९५ डलर पुर्याइएको छ।
२०२५ जुन २ मा घोषणा गरिएको यो परिवर्तन २०२५ सेप्टेम्बर १ देखि लागू हुनेछ। त्यसपछि अध्ययन अनुमतिका लागि आवेदन दिने सबै विदेशी विद्यार्थीहरूलाई यो नयाँ मापदण्ड लागू हुनेछ। यो व्यवस्था क्युबेकबाहेक क्यानाडाका सबै प्रान्त र क्षेत्रमा पढ्न आउने विद्यार्थीहरूका लागि हो। विदेशी विद्यार्थीहरूले आफू र साथमा आएका परिवार सदस्यहरूको जीवनयापन खर्चका लागि यो रकम देखाउनुपर्नेछ।क्यानाडाले जीवनयापन खर्चमा वृद्धि भएसँगै प्रत्येक वर्ष उक्त रकम अद्यावधिक गर्दै आएको छ। इआरसीसीले आर्थिक प्रमाणका रुपमा विभिन्न पक्षहरू हेर्ने गर्छ। विदेशी विद्यार्थीहरूले निम्नमध्ये कुनै पनि कागजातमार्फत आवश्यक आर्थिक प्रमाण प्रस्तुत गर्न सक्ने जनाइएको छ।
–क्यानाडाको बैंक खातामा आफ्नो नाममा रकम ट्रान्सफर भएको प्रमाण–क्यानेडियन वित्तीय संस्थाबाट जारी भएको ‘ग्यारेन्टेड इन्भेस्टमेन्ट सर्टिफिकेट (जीआइसी)
–बैंकबाट लिएको छात्रवृत्ति वा शैक्षिक ऋणको प्रमाण
–पछिल्ला ४ महिनाका बैंक स्टेटमेन्टहरू
–क्यानेडाली डलरमा परिणत गर्न मिल्ने बैंक ड्राफ्ट
–रकम उपलब्ध गराउने व्यक्ति वा विद्यालयबाट आएको चिठ्ठी
–क्यानाडा भित्रैबाट तिर्ने व्यवस्था भएको छात्रवृत्ति वा सरकारी शैक्षिक कार्यक्रमको प्रमाण।
(क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’ बाट)