रुपन्देही । रुपन्देही ३ मा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । राजनीतिक दलहरु उम्मेदवार खोज्न व्यस्त रहँदा केही ‘स्वतन्त्र’ अनुहार पनि दौडमा मिसिने तर्खर गर्दैछन्, जसमध्ये एक हुन् सन्तोष गिरी ।

विगतमा एमालेको पृष्ठभूमि भए पनि अहिले ‘बालेननिकट’ उम्मेदवारका रुपमा चुनावमा होमिन लागेका हुन् । यदि अहिले प्रचार गरिएजस्तै बालेनले खुलेर समर्थन गरेको खण्डमा उनको दावेदारी सशक्त हुन सक्छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ पश्चिमपहुनीका ३३ वर्षीय गिरी विगतमा विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव बनेका थिए ।

हाल उनी काठमाडौंका मेयर मेयर बालेनको सल्लाहकार टीममा छन् । उनी बालेनको खाद्य सल्लाहकार हुन् । साथै, नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् । गिरीले अर्थशास्त्रमा एमएको साथै एलएलबी गरेका छन् ।

रास्वपाबाट उठ्ने हल्ला गर्दै आएका सागर ढकालको समेत समर्थन लिएर उम्मेदवारी दिने गिरीको योजना छ । यस्तै, स्वतन्त्रबाट धनगढीको मेयर जितेका गोपी हमालदेखि कुलमान घिसिङसमेतको साथ लिने भनेर समेत प्रचार गरिएको छ । भोलि वा पर्सिसम्म उम्मेदवारी घोषणा गर्ने गिरीको तयारी छ । यही सिलसिलामा उनी निकट केही व्यक्तिहरु रुपन्देही आइसकेका छन् ।

०७९ को निर्वाचनलगत्तै बालेनको सल्लाहकारको भूमिकामा रहेको गिरी बताउँछन् । ‘निर्वाचनपछि मेयर सा’पको सल्लाहकारको टीममा छु, विषयगत सल्लाह उहाँको प्राथमिकतामा पर्दछ,’ उनले भने । गिरीसँगै खाद्य तथा गुण नियन्त्रण विभागकी पूर्वडीजी जीवन प्रभा लामा, सेफ सन्तोष साह बालेनको खाद्य सल्लाहकार टिममा छन् ।

बालेनका आइटी विज्ञ सुदीप ढकाल पनि भैरहवाकै हुन् । त्यसैगरी भैरहवाका सुनील लम्साललाई बालेनले पूर्वाधार सल्लाहकारसँगै फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएका छन् । गिरीले मंगलबार वा बुधबार उम्मेदवारी घोषणा गर्ने र बताए ।

14
Shares
२३ असार २०८२, सोमबार १७:२३