स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दु:ख लागेको बताए । यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् ।
‘हामी २ गोलले पछाडि हुँदा पनि गोल फर्कायौं, त्यसमा ५०-५० चान्स थियो जहाँ हामी चुक्यौं’ उनले भनिन्, ‘कोचिङ स्टाफ र बेन्चबाट निरन्तर सपोर्ट आइरहेको थियो।’ ‘समग्रमा भन्नुपर्दा हामीले धेरै कुराहरू सिक्ने मौका पायौं, हामीभन्दा माथिल्लो टिमसँग खेल्न पायौं’ उनले अगाडि थपिन्, ‘प्रशिक्षकले पनि हामीलाई धेरै फरक तरिकाले मोटिभेट गराइरहनुभएको थियो।’प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन् । उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ । छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन ।