विराटनगर । देशभर मनसुनी प्रणालीको सक्रियता कायमै रहेको छ । विशेषगरी भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका अधिकांश भूभागमा मौसम बदली देखिएको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ भने अन्य स्थानहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार पनि अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपात पनि हुन सक्ने चेतावनी दिइएको छ।
मौसममा आउने तीव्र परिवर्तनका कारण भू–क्षय, पहिरो, बाढी, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रहरूमा डुबानको जोखिमसमेत रहेको छ। साथै, नदी नालामा पानीको सतह बढ्न सक्ने, तथा सडक, हवाई यातायात, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।