काठमाडौं । चिकित्सकमाथि उपभोक्ता अदालतले दोषारोपण र लापरबाहीका फैसला आउन थालेपछि चिकित्सक आन्दोलित छन् । सोमबारबाट देशभरको आकस्मिक बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने देखि नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने निर्णय गरेको छ ।

आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिए । सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, चिकित्सकबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी चिकित्सक संघमा बुझाउने र मंगलबार संघले प्रमाणपत्र मेडिकल काउन्सिलमा बुझाउने लगायत आन्दोलनका कार्यक्रम तय भएको छ ।

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

सोही सन्दर्भमा संघका अध्यक्ष डा. अनिल कार्कीले गम्भीर अभिव्यक्ति दिएका छन् । डा. कार्कीका अनुसार, यस्तो निर्णयले देशभरका चिकित्सकमा निराशा, आक्रोश र असुरक्षा बढाएको छ । ‘आज हामीले धर्ना गर्‍यौँ, भोलिबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द हुन्छ,’ डा. कार्कीले भने, ‘यो आन्दोलन सामान्य विरोध होइन, यसले चिकित्सा पेशालाई जोगाउने वा गुमाउने मोडमा पुर्‍याएको छ ।’

उनका अनुसार आन्दोलन चरणबद्ध रूपमा घोषणा हुन्छ । ‘अहिले चिकित्सकबाट लाइसेन्स संकलन गरिरहेका छौं, यदि माग पूरा भएन भने ती लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने तयारी छ,’ उनले चेतावनी दिए ।

डा. कार्कीका अनुसार उपभोक्ता अदालतका फैसलाले चिकित्सकलाई लापरबाही ठहर गर्दै ठूला क्षतिपूर्तिको सजाय दिन थालेपछि पेशागत आत्मसम्मानमाथि गम्भीर संकट आएको हो । उनी भन्छन्, ‘९८ वर्षको बिरामी निधन भएकोमा ५६ लाख रुपैयाँ जरिवाना भनेर फैसला आउँछ भने डाक्टरको नियत, मिहिनेत, सेवा सबैको अवमूल्यन हुन्छ ।’

56
Shares
२३ असार २०८२, सोमबार ०७:२५