विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन धमाधम बनिरहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस विमानस्थलको भौतिक प्रगति ४७ प्रतिशत नाघिसकेको छ ।

यो विमानस्थलको १ फागुन २०७९ मा तत्कालिन पर्यटनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए । भवनको ठेक्का मंसिर २०८२ भित्र सक्नेगरी लागेको हो । कोशी/डाँफे जेभी निर्माण कम्पनीले ठेक्कामा लिएको भवनको लागत साढे २ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनसार यस भवनको क्षमता प्रतिघण्टा ५५० यात्रु व्यवस्थापन गर्न सक्ने बराबर हुने भएको छ । डेढ दर्जन चेकइन काउन्टर, भीभीआईपी कक्ष, किड्स जोन, पत्रकार सम्मेलन कक्ष, भन्सार क्वारेन्टाइन र अन्य पसलहरू समेत रहनेगरी यहाँ संरचना बनिरहेका छन् ।

यो विमानस्थलबाट अहिले बुद्ध, यति र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन् । विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा १७ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरू यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरुको आवागमन भएको थियो । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान प्रस्थान गरेका थिए । विराटनगर विमानस्थलमा अहिले १ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग छ ।
182
Shares
२२ असार २०८२, आईतवार १९:१३