विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै पार्टीभित्र नयाँ बहस सुरु भएको छ। उनका समर्थकहरूले “मदनको नीति, विद्याको नेतृत्व” भन्ने नारा लगाउँदै उनलाई भावी नेतृका रूपमा प्रचार गर्न थालेका छन्। भण्डारीले पनि आफ्नो अनुभव र भूमिका उल्लेख गर्दै नेतृत्वका लागि तयार रहेको संकेत गरेकी छन्।

उनको पुनरागमनले एमालेमा ध्रुवीकरणको संकेत देखिएपछि पार्टी नेतृत्वले तत्कालका लागि नेतृत्वसम्बन्धी बहस रोक्न निर्देशन दिएको छ। महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीका नेताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिँदै, नीति निर्माणमा ध्यान दिन आग्रह गरेका छन्। पार्टीले आगामी भदौमा विधान अधिवेशन गर्न लागेको छ, जसले नीति निर्माण र नियम तर्जुमा गर्नेछ।

अधिवेशनमा उमेरहद र कार्यकालको सीमा, जस्तै ७० वर्षे उमेर र दुई कार्यकालको नियमबारे ठूला बहस हुने अपेक्षा छ। तर, पछिल्लो समय पार्टीभित्र उक्त प्रावधान हराएको भन्दै विवाद पनि बढेको छ। नेताहरूले नेतृत्वको चर्चा यस अवस्थामा गर्दा नीति बहस ओझेलमा पर्ने चिन्ता व्यक्त गरेका छन्।

यद्यपि, केही नेताहरू भने कार्यकर्तालाई चुप गराउनु अनुचित भन्दै विरोधमा उत्रिएका छन्। उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले नेतृत्वको विकल्पबारे बोल्न नपाउने अवस्था अस्वीकार्य भएको बताएका छन्। उनीहरूका अनुसार, पार्टीभित्र खुला विचार र बहस हुनु लोकतान्त्रिक अभ्यासको अङ्ग हो।

28
Shares
२० असार २०८२, शुक्रबार १०:५८