काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफूलाई पदबाट हटाइएको विषयमा दायर गरेको रिटमाथि आज मंगलबार (असार १७) सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
यो मुद्दा न्यायाधीश हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको हो। यसअघि असार १२ गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई कारण देखाऊ आदेश जारी गरिसकेको थियो।
रिटमार्फत डा. ढकालले आफू अझै महामन्त्रीकै हैसियतमा रहेको दाबी गर्दै पद पुनः बहालीको माग गरेका छन्। सर्वोच्चले आजको सुनुवाइमा अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई उपस्थित हुन भनेको छ।
गत वर्ष संगठन सुदृढीकरणका लागि बनाइएको प्रतिवेदन सार्वजनिक भएपछि रास्वपाले ढकाललाई अनुशासनहीनताको आरोपमा कारबाही गर्दै हटाएको थियो। तर ढकालले निर्वाचन आयोगलाई जानकारी नदिएको भन्दै आफूलाई अझै हटाइएको छैन भन्ने दाबी गरेका छन्।
पार्टीभित्रको शक्ति संघर्ष अब अदालतको कोठामा पुगेको छ। आजको फैसलाले रास्वपाको आन्तरिक नेतृत्व विवादमा निर्णायक मोड ल्याउने अनुमान गरिएको छ।