काठमाडौँ — लगातारको वर्षासँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै जाँदा राष्ट्रियसभामा सांसदहरू एकपछि अर्को गर्दै सरकारलाई चिमोट्न थालेका छन्। शून्य समयमा उनीहरूले सम्भावित विपद् न्यूनीकरण, राहत, उद्धार तथा कृषि संकटको समाधानका लागि तत्काल तयारी गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक रासायनिक मल अभावले मारमा पारिएको बताए। अर्कोतर्फ, सांसद नरबहादुर विष्टले सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाले किसान र बजार दुवै अस्तव्यस्त बनेको जनाउँदै गृह मन्त्रालयबाट प्रत्यक्ष योजना माग गरे।

धनगढी र गोदावरी क्षेत्रमा अतिवृष्टिले जनजीवन प्रभावित भएको नारायणदत्त मिश्रको भनाइ थियो। त्यस्तै, बर्दियातर्फको कर्णाली नदी पुल क्षतिग्रस्त भएको भन्दै सांसद मदनकुमारी साहले तत्काल मर्मतको माग गरिन्।

सांसद मोहम्मद खालिदले चामल आत्मनिर्भरता लक्ष्यबारे सरकारलाई सतर्क गराए भने, राजेन्द्र लक्ष्मी गैरेले क्षतिग्रस्त सडकले जोखिमयुक्त यात्रा गरिरहनु परेको बताइन्।

कर खारेजदेखि सीपमूलक तालिम र रोजगारी प्रवाहसम्म सांसदहरूले सरकारलाई प्रश्नमाथि प्रश्न गर्दै ‘अब बोल्ने होइन, गर्नुपर्ने बेला हो’ भन्ने सन्देश दिए।

14
Shares
१७ असार २०८२, मंगलवार १४:३३