इँटाभट्टाको जस्ताको टहरामा बसी धुलो र पसिनाबीच हुर्किएकी गोमा श्रेष्ठले आफ्नो जीवनको पहिलो ठूलो जित हात पारेकी छिन्। माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उनले सर्वोत्कृष्ट ४.०० जीपीए प्राप्त गरेकी छन्।
त्यो दिन उनी धान रोपाइँको मेलाबाट फर्केकी थिइन्। थकाइ लागेको थियो, तर मनमा एउटा हल्का तर्स पनि थियो – एसईईको नतिजा आएको खबरले उत्साहित बनायो। मोबाइलबाट जाँच गरिन्, अनि आँखामा आँसु – खुसीका आँसु।
सामुदायिक विद्यालयबाट सीधै उत्कृष्टतामा
चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माध्यामिक विद्यालयकी छात्रा गोमा भक्तपुरकै ३० उत्कृष्ट विद्यार्थीमध्ये एक बनिन्। चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा ल्याएर उनले विद्यालय र नगरकै गौरव बढाइन्।
तर यो सफलता सजिलै आएको होइन। गोमाको बाल्यकाल रामेछापको खनियापानीमा बितेको थियो। आर्थिक अवस्था कमजोर, तर पढाइमा प्रगाढ रुचि भएकी छोरीका लागि उनका बाबु मीनबहादुर श्रेष्ठले थातथलो छाडे।
‘इँटा पारेर पढाउँछु’ भन्ने बुबाको अठोट
भक्तपुर आएपछि मीनबहादुरले इँटाभट्टामा काम थाले। ‘इँटा पारेर, भारी बोकेर भए पनि पढाउँछु’ भन्ने अठोटमा छोरीलाई इँटाभट्टासँगैको विद्यालयमा भर्ना गराए। गोमाको दैनिकी पनि त्यही थियो – दिउँसो पढाइ, बिहान र बेलुका खलामा काम।
‘कक्षा १० पुगेपछि बुबाआमा र शिक्षकले पढाइमा ध्यान दिनु भनेपछि मैले खलाको काम घटाएर पढ्न थालेँ’, गोमा सम्झिन्छिन्, ‘त्यसैले यो नतिजा पाएको हुँ।’
अबको सपना – एमबीबीएस छात्रवृत्तिमा पास गर्ने
गोमाको अर्को लक्ष्य अझ ठूलो छ – डाक्टर बन्ने। तर त्यो सपना सजिलो छैन भन्ने उनलाई थाहा छ। ‘छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढ्नुपर्नेछ,’ उनी भन्छिन्, ‘अनि त्यसपछि म जन्मदाताहरू र देशका जनताको सेवा गर्न चाहन्छु।’
गोमाको यो यात्रा केवल व्यक्तिगत सफलता होइन – यो समाजको हरेक छोरीका लागि प्रेरणा हो, जसले सीमित साधनमा पनि असीम सम्भावनाको ढोका खोल्न सक्छ।