काठमाडौँ — लामो अड्कलबाजी र राजनीतिक चर्चापछि पूर्व राष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरेकी छन्। उनले आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरिरहेको जनाइएको छ।
भण्डारीको राजनीतिक पुनरागमन चीन भ्रमणपछि पुष्टि भएको हो, जहाँ उनी चिनियाँ उपराष्ट्रपति लगायत नेताहरूसँग भेटघाट गर्दै एमाले नेताको रूपमा देखिएकी थिइन्। विश्लेषकहरूका अनुसार चीनले नेपालमा कम्युनिष्ट एकता कायम गर्न भण्डारीलाई ‘विश्वास पात्र’का रूपमा अघि सारेको हो।
पूर्व राष्ट्रपति भण्डारीसँगै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको माओवादी प्रवेशले पनि यो ‘कम्युनिष्ट एकता’को तयारीलाई थप सशक्त बनाएको देखिन्छ। एमालेभित्र अध्यक्ष ओलीको प्रभाव कमजोर भइरहेका बेला भण्डारीलाई नेतृत्वमा ल्याउने प्रयास तीव्र भएको छ।
राजनीतिमा स्थायी मित्र वा शत्रु नहुने मान्यतासँगै अब ओली र भण्डारीबीचको शक्ति प्रतिस्पर्धा निर्णायक मोडमा पुगेको विश्लेषण गरिएको छ।