२०७७ मंसिर ७ गते महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा भएको ६ वर्षीया गुलावसा खातुनको बलात्कारपछि हत्या घटनामा संलग्न अभियुक्त अरुणकुमार साहका फरार रहेका अभिभावकलाई प्रहरीले ४ वर्ष ७ महिनापछि पक्राउ गरेको छ।

प्रहरीका अनुसार, ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया शुशिला देवी, जो पीडक अरुण साहका बुबा–आमा हुन्, भारतमा लुकेर बस्दै आएका थिए। तर, हालै आफन्तसँग भेटघाट गर्न जलेश्वर–१२ स्थित नैन्हीमा आउँदा उनीहरूलाई प्रहरीले गोप्य सूचनाको आधारमा संयुक्त अपरेसनमार्फत नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, गुलावसा खातुनलाई अरुणले ललाइफकाइ आफ्नो घर लगेर बलात्कार गरी हत्या गरेका थिए। घटना लगत्तै पक्राउ परेका अरुणविरुद्ध अपहरण, जबर्जस्ती करणी, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। तर, घटनापछि आमाबुबा फरार रहँदै आएका थिए।

प्रहरी अनुसन्धानले देखाएको तथ्य अनुसार, अरुणले घटना ढाकछोप गर्न आफ्ना आमाबुबाबाट प्रत्यक्ष सहयोग पाएका थिए। हत्या पश्चात बालिकाको शव बोरामा राखी झाडीमा फाल्न उनीहरूले अरुणलाई साथ दिएको प्रमाण भेटिएको प्रहरी स्रोत बताउँछ।

अहिले पक्राउ परेका श्रीमान्–श्रीमतीलाई महानगरीय अपराध महाशाखाको सहयोगमा अदालतमा पेश गरिएको छ। उनीहरूलाई अब छोरासँगै उस्तै प्रकृतिको गम्भीर अपराधमा कानुनी कारवाही अगाडि बढाइने प्रहरीको भनाइ छ।

35
Shares
१५ असार २०८२, आईतवार १७:३२