काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा सामाखुसी करिडोर अन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता गरेको अभियोगमा बुधबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

अनुसार, समानान्तर सेवा प्रालिले १८ करोड रुपैयाँको ठेक्का प्रस्ताव गरे पनि कल्पवृक्ष कोहीनूर कम्पनीसँग २२ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। बढी मूल्य कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको भन्दै भ्रष्टाचारको आरोप लगाइएको छ।

परियारसँगै महानगरका तत्कालीन निर्देशकहरू रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादीमा परेका छन्।

अख्तियारले प्रत्येक प्रतिवादीमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै सो बराबरको जरिवाना तथा कैद सजायको माग दाबी गरेको छ।

महानगरपालिकाबाट सरूवा भई प्रदीप परियार हाल सूचना तथा प्रसारण विभागको महानिर्देशकको रूपमा कार्यरत छन्।

63
Shares
२८ जेष्ठ २०८२, बुधबार १७:२५