विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा ३३ करोड ४७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०७८ माघ ६ मा टेलिकम र चिनियाँ कम्पनी एशियाइन्फो लिङ्केज टेक्नोलोजिजबीच भएको रियल-टाइम बिलिङ प्रणालीको सम्झौता प्रक्रियामा गम्भीर अनियमितता भएको अख्तियारको निष्कर्ष छ।

सम्झौताअनुसार वार्षिक मर्मतसम्भार शुल्क ५ प्रतिशतले घट्नुपर्ने भए पनि पूर्वनिर्धारित मूल्यभन्दा धेरैमा — २ करोड ५ लाख ६३ हजार डलरमा — सम्झौता गरिएको पाइएको छ।

यसले कम्पनीको नीति र सार्वजनिक संस्थालाई हानि पुर्‍याउने ढंगमा निर्णय गरिएको भन्दै भ्रष्टाचार अभियोग दर्ता गरिएको हो।

 
28
Shares
२५ जेष्ठ २०८२, आईतवार १७:१३