विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार उद्घाटन गर्नुभएको छ ‌ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकारी सहयोग बिना समुदायको सक्रिय सहभागिता र असल नेतृत्वबाट सुविधासम्पन्न अस्पताल स्थापना हुनु प्रेरणादायी रहेको बताउनु भयो। उहाँले विपन्न र कमजोर वर्गका लागि अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “काम भनेको केवल जागिर होइन, उद्यमशीलता पनि हो। यदि हामीले युवालाई उद्यममा लाग्न प्रेरित गर्यौं भने समृद्धि टाढा छैन।”

समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले अस्पतालको उद्देश्य विपन्न वर्गका लागि सुलभ, गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउनु भएको स्पष्ट पार्नुभयो ‌। अस्पताल सामाजिक व्यवसायको भावना अनुसार स्थापना गरिएको उहाँको भनाइ थियो।

अस्पताल उद्घाटन कार्यक्रममा स्थानीयबासी, स्वास्थ्यकर्मी तथा विभिन्न राजनीतिक र सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

जीवन विकास सामुदायिक अस्पतालको स्थापना नेपालको पूर्वी क्षेत्रका स्वास्थ्य सुविधाबाट वञ्चित समुदायलाई लक्षित गरी गरिएको हो।

14
Shares
२४ जेष्ठ २०८२, शनिबार २०:२१