विराटनगर । देशभरिका उपप्रमुखहरूको आवाज बुलन्द बनाउने उद्देश्यले आयोजना हुन लागेको उपमेयरहरुको राष्ट्रिय सम्मेलन यही जेष्ठ २३ र २४ गते विराटनगरमा हुँदैछ। दुई दिनसम्म चल्ने यस महत्वपूर्ण सम्मेलनको नेतृत्व विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले लिनुभएको छ भने, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल सहित देशभरका उपप्रमुखहरुको सहभागिता रहनेछ
उपप्रमुख कार्कीका अनुसार, सम्मेलनको मुख्य उद्देश्य देशभरका उपप्रमुखहरूले भोग्दै आएका समस्या, चुनौती तथा कानुनी जटिलताबारे गम्भीर छलफल गर्नु हो। कार्यक्रममा प्यानल डिस्कसन, प्रस्तुतीकरण तथा सम्वादका माध्यमबाट उपप्रमुखहरूका अनुभव, जिम्मेवारी र अधिकारसम्बन्धी विषयहरू उजागर गरिनेछ। “हामीले काम गर्दा भोगेका कानुनी अस्पष्टता र जटिलता अब छलफलको केन्द्रमा ल्याएर दस्तावेजीकरण गर्दै सरकारलाई सुझाव दिन्छौं”, उपप्रमुख कार्कीले भन्नुभयो।
 

काठमाडौँ महानगरपालिकाले विगतमा सम्मेलनको आयोजना गरेर उपप्रमुखहरूको साझा मञ्च निर्माणमा पहल गरेको थियो। उपमेयर सुनिता डङ्गोलको सक्रियताले सो सम्मेलन प्रभावशाली बनेको थियो। अहिलेको सम्मेलनमा पनि उहाँको अनुभव र नेतृत्वले विशिष्ट महत्व राख्ने अपेक्षा गरिएको छ। डङ्गोल महिला नेतृत्वका क्षेत्रमा सशक्त आवाज हुन् भने कार्की हाल उदाउँदै गरेको  प्रशासनिक नेतृत्वकर्ता हुनुहुन्छ।

उक्त सम्मेलनको अध्यक्षता विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नुहुनेछ भने कार्यक्रमको प्रमुख अतिथि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुनेछ।

कोशी प्रदेश सरकारको सहकार्यमा आयोजना भइरहेको यो सम्मेलनले उपप्रमुखहरूको नीति निर्माणमा प्रभाव पार्ने विश्वास लिइएको छ। स्थानीय सरकारको दोस्रो शीर्ष तहमा रहेका उपप्रमुखहरूको भूमिका अझ प्रभावकारी बनाउन, तिनीहरूलाई कानुनी र प्रशासनिक दृष्टिले सक्षम बनाउने दिशामा सम्मेलनले महत्वपूर्ण टेवा पुर्‍याउने आयोजकहरूको भनाइ छ।

2.76k
Shares
२० जेष्ठ २०८२, मंगलवार २०:३३