विराटनगर । सर्वसाधारणलाई सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित मोरङको कटहरी गाउँपालिकामा २ सय शैयाको सुविधासम्पन्न जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन संचालनमा आएको छ।
झन्डै २ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको यो अस्पतालमा अत्याधुनिक उपकरणसहित आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूमार्फत ओपिडी सेवा, नर्मल र पेनलेस डेलिभरी, जेनेरल तथा लेप्रोस्कोपिक (दूरबिन) शल्यक्रिया, बालरोग सेवा, डायलिसिस, आइसीयु, एनआइसीयु, सिसियु, एचडिसियु, पिआइसियु, डिजिटल र भिडियो एक्सरेसहित सबै प्रकारका ल्याब सेवा उपलब्ध छन्। साथै, नाक, कान, घाँटी उपचार तथा आँखाको जाँच सेवा पनि एकै छानामुनि प्रदान गरिनेछ।
अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलका अनुसार, नेपाल–भारत सीमावर्ती क्षेत्रका आम नागरिकलाई लक्षित गरी सेवा शुरू गरिएको हो। “हाम्रो उद्देश्य नाफा कमाउने होइन, सेवामूलक भावना हो,” अध्यक्ष मण्डलले बताउनुभयो। उहाँको दाबी अनुसार, सामाजिक व्यवसायको अवधारणामा २०० बेडसहितको सेवा प्रवाह गर्ने यो नेपालकै पहिलो सामुदायिक अस्पताल हो।

जीवन विकास समाजले विक्रम सम्वत २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टा सेवा दिने सानो क्लिनिकको रूपमा स्वास्थ्य सेवा सुरु गरेको थियो। सोही संस्थाले विस्तार हुँदै जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज २० बिघा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न अस्पतालमा रूपान्तरण गरेको हो। हाल अस्पतालमा करिब २ सय स्वास्थ्यकर्मी तथा चिकित्सकको टोली सेवामा खटिएको छ।

यस सामुदायिक अस्पतालको औपचारिक उद्घाटन जेठ २४ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

91
Shares
२० जेष्ठ २०८२, मंगलवार ००:१९