विराटनगर । लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको कालोपत्रे  पूरा नहुँदा समाजमा असन्तोष बढ्दै गएको छ। यही विषयमा सामाजिक अभियन्ता तथा प्रतिनिधिसभाका उम्मेदवार सागर ढकालले आज सरकारप्रति तीव्र आक्रोश व्यक्त  गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सडक खण्डमा यात्रा गरेको भिडियो सेयर गर्दै ढकाल लेख्नुहुन्छ “३.५ बर्षमा बन्नु पर्ने नारायणगढ-बुटवल रोड ७-८ बर्षमा पनि उस्तै छ। कति जनताको रगत चुस्ने हो थाहा छैन। दुई तिहाइको सरकार ज्युँदै मरेको लास भएको छ।”
उहाँले थप व्यङ्ग्य गर्दै भन्नु भएको छ,”तीन जना टाउकेहरूलाई मोटरसाइकलमै यो बाटोमा ल्याउन सके आँखा खुल्थ्यो कि?”

सडक स्तरोन्नतिमा ढिलाइले गर्दा दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीहरू निकै सास्ती खेप्न बाध्य छन्। गाडीको लाम, धूलो, हिलो र दुर्घटनाको जोखिमले जनजीवन प्रभावित बनाएको छ। सरकारले पटक–पटक म्याद थप्दै आए पनि निर्माण कार्यमा खासै प्रगति देखिएको छैन।

विकास निर्माणमा देखिएको सुस्तता र जवाफदेहिताको अभावप्रति जनतामाझ व्यापक असन्तोष चुलिँदै गएको छ। सागर ढकालजस्ता युवानेताहरूको सामाजिक सञ्जालबाट आएका आलोचना तीव्र जनभावनाको संकेतको रूपमा देखिएको छ।

49
Shares
१७ जेष्ठ २०८२, शनिबार २२:४४