विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा एकदिने नेपाल-भारत युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ।
सम्मेलनमा नेपाल र भारतका युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहनुका साथै कार्यक्रमको मुख्य उद्देश्य दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यावसायिक नेटवर्किङ, र दीर्घकालीन सहकार्यको सम्भावनालाई ऊर्जा दिनुरहेको आयोजक नेपाल उद्योगी युवामञ्च विराटनगर च्याप्टरले हिजो बुधबार बिराटनगरमा पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला (वर्कसप) तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज, स्टार्टअप र नवप्रवर्तन विषयमा गहन छलफल हुनेछ ।

विराटनगर च्याप्टरका अध्यक्ष शुभम भट्टराईका अनुसार, ‘यो सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा स्रोतको सदुपयोग, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवर्द्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।”

उक्त कार्यक्रमले नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने र भविष्यका लागि सहकार्यका ढोका खोल्ने सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्मेलनले नेपाल-भारतबीचको युवा उद्यमशीलता सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक नयाँ कदम अघि बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

उक्त सम्मेलन झापा स्थित होटल मेची क्राउनमा आगामी जेठ २५ गते बिहान ११:०० बजे सुरु हुनेछ।

35
Shares
१५ जेष्ठ २०८२, बिहीबार ०७:२२