बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भारत–पाकिस्तानबीचको द्वन्द्व नेपालसहित अन्तर्राष्ट्रिय जगत्को अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणाम स्वरूप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुशी व्यक्त गर्नुभयो । केही दिनअघि छिमेकी देश भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवादसमेत दिनुभयो ।‘हामीले शुरूदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ । उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो’, प्रधानमन्त्री ओलीले भन्नुभयो । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘बुद्धको सन्देशको महत्त्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । विश्वमा युद्ध होडबाजीका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उहाँले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताउनुभयो । ‘यस खालका खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।बुद्धको जन्मथलोको विकासमा योगदान गर्ने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरूप्रति आभार व्यक्त गर्नुभयो । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पुर्याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उहाँले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र गुरुयोजना यथाशक्य छिटो सम्पन्न गर्नेगरी काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात् गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात् गर्नुपर्ने बताउनुभयो । बुद्धका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।