यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसैबीच बुद्धको जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाएर सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।
मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ ।
बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिने र मूल कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समिति ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो ।
त्यस अवसरमा देश तथा विदेशबाट हजारौं श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अनुमान गरिएको छ ।