विराटनगर । मोरङका सिमावर्ती क्षेत्रको शुक्रबार संयुक्त अनुगमन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको हो । प्रजिअ यादवले मोरङका पूर्वी नाका तथा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको जानकारी दिए । संयुक्त टोलीले बरडंगा, डोरिया, मिर्चाडाङी, कुटुम्गन्ज र सिक्टीलगायतका स्थानको स्थलगत अनुगमन एवं निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा स्थानीयस्तरको सुरक्षा अवस्था, भौगोलिक अवस्थिति र जनजीवनका बारेमा जानकारी लिइएको थियो । अनुगमनमा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बलका मोरङ प्रमुख एसपी राजेश घिमिरे, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख तिलक प्रसाईंलगायत सहभागी थिए ।

टोलीले सशस्त्र प्रहरीका विभिन्न युनिट र नेपाल प्रहरीका युनिटहरुको भौतिक अवस्था, सीमा स्तम्भहरूको अवस्थाको निरीक्षणसमेत गरेको छ । सीमा क्षेत्रका स्थानीय बासिन्दासँग छलफलसमेत भएको र उनीहरुबाट सुझाव संकलन गरिएको प्रजिअ यादवले बताए । उनका अनुसार सीमा सुरक्षाको वर्तमान अवस्थाको मूल्यांकन गर्न र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय एवं सहकार्य बढाउन स्थलगत अनुगमन गरिएको हो । सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार, आपराधिक गतिविधि तथा मानव तस्करीलगायतका सीमा अपराध नियन्त्रण गर्न अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सीमामा हुने गतिविधिमाथि निगरानी बढाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन तथा स्थानीयस्तरमा उत्पन्न समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिने योजना रहेको प्रजिअ यादवले बताए ।

3
Shares
१२ बैशाख २०८२, शुक्रबार २०:२४