आफूहरुले चाँडै घटनास्थलमा पुगेर अध्ययन गर्ने र विभागमा प्रतिवेदन बुझाउने संयोजक शर्माले जानकारी दिए । ‘घटना के कसरी भएको हो, तार कसरी लत्रियो लगायतका विषयमा अध्ययन गर्छौं,’ उनले भने, ‘भएका कमजोरी र यस्ता घटना हुन नदिन आगामी दिनमा अपनाउनुपर्ने प्रक्रियाका विषयमा सुझाव दिन्छौं ।’ उनले प्रतिवेदन बुझाउने समयको निर्धारण नभए पनि चाँडै काम गर्ने बताए । ‘हामी चाँडै काम सुरु गर्छौं र सक्छौं पनि, त्यसो भए अरु काम गर्न पाइन्छ,’ शर्माले भने ।
पोलबाट लत्रिएको तारले करेन्ट लागेर सदरमुकाम फुङलिङबाट काफ्लेपाटी जाँदै गरेको जीप जलेको थियो । जीपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जनाको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु हुनेमा झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र उनीहरुकी नातिनी ललितपुर निवासी आध्या आचार्य र जीप चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भयो ।उक्त दुर्घटनामा परेर सविना पौडेल आचार्य सख्त घाइते भएकी थिइन् । सबिनाका छोरा भने दुर्घटनाबाट जोगिन सफल भए ।पाँचजना पाथीभराका यात्रु लिएर जाँदै गरेको जीपमा सेवारो चोक नजिक करेन्ट लागेको थियो ।