काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा कांग्रेसका नेताकै छोरासमेत संलग्न रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भाटभटेनी लुटपाटको घटनामा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा नै पक्राउ परेको बताए। पछि आफ्नै नेताका छोरा पक्राउ परेको थाहा पाएपछि छाडिएको उनले बताए।

अध्यक्ष लिङ्देनले कांग्रेस नेताका छोराले लिएर गएका अर्का एक जना पनि त्यसक्रममा पक्राउ परेको बताए। नेताका छोरा छुटेपछि सँगै गएका ती व्यक्तिले आफूलाई नछाडे त्यो कुरा सार्वजनिक गरिदिने धम्की दिएपछि उनलाई पनि दुई घण्टामै रिहा गरिएको लिङदेनको दाबी छ। बैठकमा लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई सोधे, ‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू! भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ पर्नुभा’छ। किन छोड्नुभो तुरुन्तै?’

उनले थपे, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। पछि थाहा भो, तपाईंको पुलिसले पक्रिँदाखेरी भिडियोमा हेरेर पक्रियो। तर, पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नु भो। ल्याएको मान्छे छुटेन। पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टाभित्र तपाईंहरूले छाड्नुभो। त्यसकारण यो सत्यतथ्य सार्वजनिक हुन जरुरी छ।’ लोकतन्त्रको नाममा यसप्रकारको निरंकुशता चलाइराखे आफूहरू यो व्यवस्थाको विरोध गरिरहने उनले चेतावनी दिए।
3
Shares
१२ बैशाख २०८२, शुक्रबार २०:१६