मोरङ । सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिकामा तनाव भएको छ। शुक्रबार भएको दुर्घटनापछि हरैंचा बजारमा दिउँसो ३ घण्टाबढिको समय प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ।

बिहान करिब ११ बजे विराटनगर–विराटचोक सडक खण्डमा ना १ क ६२७० नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहबी नगरपालिकाका–९ का ४० वर्षीय महमद हासिम मियाँको मृत्यु भएपछि अवस्था तनावमय बनेको थियो। गिट्टी लोड गरेर हुइँकिएको टिपरले ठक्कर दिएपछि मियाँको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि स्थानीय आक्रोशित हुँदै सडकमा ओर्लिएका थिए। शव सडकमै राखेर प्रदर्शन र ढुंगामुढा गर्न थालेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ८ सेल आश्रुग्यास प्रहार गर्नु परेको थियो। घटनानियन्त्रणमा लिनका लागि मोरंगका प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशी र मदन केसीको नेतृत्वमा प्रहरीको टोली परिचालन भएको थियो।

घटना साम्य नभएपछि सुरक्षाका प्रहरीको थप टोली सामेल गराइएको थियो। जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक नारायण चिमोरियाका अनुसार स्थिती नियन्त्रणमा बाहिर जान नदिन प्रहरीले बल प्रयोग गर्नु परेको जानकारी दिए। उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर र ८ सेल आश्रुग्यास प्रहार गरेको बताए। यसक्रममा प्रहरी नायब उपरिक्षक जोशी घाइते भएको बताएका प्रहरी प्रमुख चिमोरियाले घाइते जोशीको अनुहारमा चोट लागेको र उनको विराटनगरस्थित विराटनगर अस्पताल तथा नर्सिंग होममा उपचार भइरहेको छ।

निर्माण कार्यका लागि आवश्यक पर्ने सरसमान ढुवानी गर्दै आएको टिपरको हकाइप्रति स्थानीय आक्रोशित भएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर सञ्चालन गर्दै आएका हुन्। यद्यपि, घटनाका क्रममा बारा घर भइ हाल सुन्दरहरैँचा–१२ मा बसोबास गर्दै आएका २५ वर्षीय पवन योञ्जनले कुदाएका थिए। घटनापछि योञ्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक चिमोरियाका अनुसार प्रहरीको सक्रियता र सजगतापछि भीड हटेको थियो। सोही क्रममा दिउँसो करिब २ बजेदेखि सडक सञ्चालनमा आएको उनको भनाइ छ। शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

3
Shares
१२ बैशाख २०८२, शुक्रबार २०:१२