विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–९ आठसरेस्थित मधुमल्ला–उर्लाबारी सडक खण्डमा आज (आइतबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चालकसहित ४ जना घाइते भएका छन् ।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर दिउँसो १२ः३५ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा सवार मोरङको उर्लाबारी नगरपालिका–४ का अन्दाजी २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको छ ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोलीले जेसीबीको सहयोग लिई उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

दुर्घटनामा परेर ट्याक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय, निर्जल विक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन् । उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै ट्याक्टर चालक फरार बनेका थिए । प्रहरीले खोजतलास गरेर फेला पार्दा उनी पनि घाइते अवस्थामा भेटिएका हुन् । ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । इन्स्पेक्टर बराल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
7
Shares
७ बैशाख २०८२, आईतवार १९:२२