उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए।
आइतबार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाहीलगायत सात जनालाई पक्राउ गरेको थियो। उनीहरु सातै जनालाई रिहा गरिएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो। भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङ्देनले भोलिको कुरा भोलि नै भन्ने बताए। उनले भने, ‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी। भोलिको कुरा भोलि नै भन्छौँ।’