दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । त्यसकारण यस खेल निर्णायक हुनेछ ।
प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो ।अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।
यस छनोट प्रतियोगिताअघि नेपालले अफगानिस्तानसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३ खेलको शृंखला खेलेको थियो जहाँ पहिलो खेल एकतर्फी रूपमा गुमाउँदा दोस्रो खेलमा नजिक पुगेर पराजित भएको थियो भने तेस्रो खेलमा शानदार बलिङ गर्दै जितेको थियो ।नेपालले घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।