अभियानअन्तर्गत प्रदेशभरिका अपांगात भएकाहरुलाई कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय, नृत्य, चित्रकला, हस्तकला, नवप्रवर्तन .इनोभेसन)लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्न आमन्त्रण गरिएको छ।
सुरुको चरणमा अनलाइनमार्फत भिडियो आवेदन माग गरिएको छ । आवेदन ह्वाट्सएप नम्बर वा लिंकमार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको छ । कार्यक्रम वैशाखभरिमा सम्पन्न गर्ने योजना छ ।प्रतिभा प्रस्तुत गर्न चाहनेले वैशाख ७ गते आइतबारसम्म आवेदन दिन सक्ने छन् । करिब २३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रमका लागि करुणा फाउन्डेसनले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
‘कोशी प्रदेशको सान, प्रतभावान अपांगता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकतामा वृद्धि–आय र आत्मसम्मान’ भन्ने नारासहित अभियान सुरु गर्न लागिएको हो । यसले अपांगता भएका व्यक्तिहरूको आत्मविश्वास, आत्मनिर्भरता र आर्थिक सामाजिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।फाउन्डेसनका निर्देशक योगेन्द्र गिरीले अपांगता भएका व्यक्तिहरूको सिप सीमित घेराभित्र थुनिँदा धेरैको प्रतिभा मर्न पुगेकाले नयाँ खालको कार्यक्रम गर्न आवश्यक ठानिएको बताए । स्क्रिनिङ प्रक्रियामार्फत उत्कृष्ट प्रतिभा छानेर उनीहरुलाई व्यावसायिक रूपान्तरण गर्न तालिम र सञ्जालमा जोडेर आवश्यक सामग्री प्रदान गरिने उनको भनाइ छ ।
महिला विकास अधिकृत सुनिता भट्टराईले सामाजिक विकास मन्त्रालयले यस अभियानलाई दीर्घकालीन जिम्मेवारीका रूपमा लिनुपर्ने बताइन् । अपांगता भएकाहरुलाई सहयोग गर्न सरकारको अग्रसरता आवश्यक रहेको उनको भनाइ छ । हालसम्म ६१ हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरू करुणा फाउन्डेसनमा समावेश भइसकेका छन् । १८ हजारभन्दा बढीलाई विभिन्न सिपमार्फत रोजगारीमा आबद्ध गराइसकिएको तथ्यांक फाउन्डेसनले सार्वजनिक गरेको छ ।