काठमाडौं । नेपाल सरकारले तोकेको म्यादभित्र दर्ता हुन नआए नेपालमा फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाइने जानकारी दिए । काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने बताए ।

सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाएर बन्द गर्ने चेतावनी उनले दिएका छन् । सरकारले चैत ७ गते सूचना निकालेर १ महिनाभित्र फेसबुकलाई दर्ता हुन आवह्रान गरेको थियो ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको १ महिनाको म्याद सकिन अब धेरै दिन बाँकी छैन । समय सकिन लाग्दा पनि फेसबुकलगायतका सामाजिक सञ्जाल दर्ताको प्रक्रियामा पुगेका छैनन् । मन्त्री गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारेका छन् । यसअघि पनि सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

पछि मन्त्रिपरिषद्को निर्णयबाट नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको प्रतिबन्ध हटाएको थियो । टिकटक कम्पनीले केही सर्तमा प्रतिबद्धता जनाएपछि सरकारले खुला गर्यो । फेसबुकलाई पनि दर्ताका लागि सरकारले समय दिएको छ । तर, सरकारको कुरा नमानेर फेसबुक अहिलेसम्म दर्ताको प्रक्रियामा गएको छैन । अब समयमा दर्ता नभएमा फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी सरकारको छ ।

14
Shares
६ बैशाख २०८२, शनिबार ०७:०९