काठमाडौँ  । चैतमा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व उठेको छ । यो चालु आर्थिक वर्षका बाँकी सबै महिनाभन्दा बढी रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि धेरै भएको विभागले जनाएको छ ।

यस आर्थिक वर्षमा घरजग्गा कारोबारबाट सबैभन्दा कम राजस्व गत कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ उठेको थियो ।

गत चैतमा मात्रै ४९ हजार ८ सय ३२ वटा नयाँ घरजग्गा किनबेच भएको छ । चैतमा मात्रै १ लाख ४७ हजार ४ सय १६ वटा कारोबार भएको विभागको तथ्यांक छ । यसअघि गत पुसमा १ लाख ४० हजार ६ सय २१ पटक घरजग्गा कारोबार भएको थियो । गत कात्तिकमा सबैभन्दा कम ९७ हजार १ सय ९६ वटा कारोबार भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल ११ लाख २५ हजार ३ सय ८८ वटा कारोबार भएको थियो ।

चालु आर्थिक वर्षमा हालसम्मकै उच्च ५४ हजार २ सय ७९ पटक कित्ताकाट लिखत पारित पनि गत चैतमा भएको विभागको तथ्यांक छ । लिखत पारित भन्नाले सोही महिनामा मात्रै नयाँ भएको कारोबार वा कित्ताकाट बुझिन्छ । समग्र कारोबार र कित्ताकाटमा नामसारी, संशोधन, हाल साविक, जग्गा बाँडफाँटलगायत हुन्छ । चैतमा कुल १ लाख २२ हजार ६ सय ५८ पटक कित्ताकाट भएको थियो । यसअघि सबैभन्दा कम कित्ताकाट भदौमा ६१ हजार ३ सय ३२ पटक भएको थियो । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल ८ लाख ६९ हजार ४ सय ४० पटक कित्ताकाट भएको जनाएको छ ।

गत भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो । कित्ताकाट रोकिएपछि ०८१ भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको थियो ।

भदौमा कित्ताकाट ठप्प भएपछि कित्ताकाट र कारोबारको लिखत पारित घटेको थियो । राजस्व पनि साउनको तुलनामा घटेको थियो । असोजयता लगातार बढिरहेको कारोबार र कित्ताकाट माघयता फेरी घटेको थियो । चैतमा यस वर्षकै सबैभन्दा बढी कारोबार र कित्ताकाट भएको विभागको तथ्यांक छ । असोजमा ७२ हजार ९५८ पटक कित्ताकाट भएकामा पुसमा १ लाख १५ हजार १३४ पटक भएको थियो । तर माघमा १ लाख १४ हजार २०६ र फागुनमा १ लाख १२ हजार ३६२ पटक कारोबार भएको थियो ।

विभागका अनुसार कारोबार भने असोजमा १ लाख ८ सय ४८ वटा हुँदा कात्तिकमा ९७ हजार १९६ वटा भएको थियो । पुसमा १ लाख ४० हजार ६२१ वटा कारोबार हुँदा माघमा १ लाख ३२ हजार ३१ वटा मात्रै कारोबार भएको थियो ।

14
Shares
३ बैशाख २०८२, बुधबार ०९:३७