काठमाडौं । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले बताए ।

विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त नगद बरामद गरेको थियो । ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।

अनुसन्धानबाट सो रकम भोटेकोशी घर भएर टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका नारायण पौडेलेको भएको खुलेको छ । पुराना ‘खासा व्यापारी’ पौडेल फरार छन् ।

21
Shares
२ बैशाख २०८२, मंगलवार १९:४०