चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकको निर्णय अनुसार महानगरको १९ वटै वडाबाट र जनसंगठनबाट आउने प्रतिनिधिको छनोट सम्पन्न भएको हो ।
पार्टीको महानगर कमिटीका प्रवक्ता एवं प्रचार उपसमिति संयोजक राम पोखरेलले महानगर अधिवेशनका लागि महानगर १९ वटा वडाबाट २ सय २० जना प्रतिनिधि छनोट गरिएको जानकारी दिए । भूगोलबाट छनोट भएका २ सय २० मध्ये खुला क्षेत्रबाट १ सय १५, महिलाबाट ६८ र युवाबाट ३७ जना रहेको पोखरेलले बताए ।उनका अनुसार महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । पोखरेलले क्रियाशील जनसंगठनमध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन गरिएको जानकारी पोखरेलले दिए ।
एमाले विराटनगर महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २ सय २० जना, जनसंगठनबाट ७९ र मनोनीत १५ जना गरेर अधिवेशनमा ३ सय १४ जना प्रतिनिधि सहभागिता हुने जानकारी दिए । कोइरालाले १५ जना प्रतिनिधि भने मनोनीत गर्न बाँकी रहेको बताए । मनोनीत गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने जानकारी दिए । अधिवेशन सम्पन्न गर्न महानगर अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा सबै वडाका अध्यक्ष तथा सचिवसहित २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाइएको छ ।