केही दिनअघि भारतीय कलाकार एवंम भ्लगर रतुल रोक्स र उनका साथीमाथि कुटपिट भएको थियो । कुटपिटबाट ती भारतीय पर्यटकलाई चोटपटक लागेको थियो । उनीहरुको क्यामरा पनि हराएको बताइएको छ ।
उनीहरुलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय शुभराज राई र सन्तोष राईलाई इलाका प्रहरी कार्यालय दिल्पाको टोलीले पक्राउ गरेको थियो ।इलाका प्रहरी दिल्पाका प्रमुख इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा वैठक बसेर दुवैलाई साधारण तारेखमा छाडिएको हो । साथै ती भारतिय पर्यटक भने आफ्नो देश फर्किसकेका छन् ।
हराएको क्यामेरा उपलब्ध गराइदिने र उपचार गराइदिने सर्तमा ती युवालाई छाडिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।गत चैत २४ गते टेम्के मैयुङ गाउँपालिकास्थित चखेवामा घटना भएको थियो । उक्त घटनापछि सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेको छ ।
ती युवाले मदिराको सुरमा आफूहरुमाथि आक्रमण गरेको पीडितको भनाई छ । आरोपी युवाहरुले भने भारतीय पर्यटकले आफुहरुलाई गालीगलौज गरेपछि उक्त घटना भएको दाबी गरेका छन् ।
उक्त घटनाका कारण आफूहरु दुखी भएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतको प्रतिक्रिया छ । यस्ता घटनाले टेम्के मैयुङको पर्यटन प्रवर्द्धनमा असर पुग्ने भन्दै आफूहरु सतर्क भएको उनको भनाइ छ । आगामी दिनमा यस्ता घटना हुन नदिन प्रहरीसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता अध्यक्ष बस्नेतले जनाएका छन् ।