म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारी वाई ल्वीनले दिएको जानकारी, बुधबार रातिसम्म भूकम्पमा परेर ४ हजार ८१४ जनाको मृत्यु भएको छ भने १४८ जना सम्पर्कविहीन छन् । ४९ हजार ८५७ घरमा क्षति पुगेको छ भने ५ लाख २४ हजार ६२४ जना प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये १८ जना बर्माका नेपालीभाषी नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । ‘म्यानमारमा करिब २ लाख नेपालीभाषी छन्, उनीहरू झण्डै १५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ’, उनले भने, ‘उहाँहरूमध्ये १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अरू केही घाइते र बेपत्ता हुनुहुन्छ ।’उनका अनुसार, भूकम्पपछि २५० जना नेपालीभाषी नागरिक विस्थापित भएका छन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।