मिल्स क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनको टोली २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो । होराइजनका लागि सन्तोष कार्कीले सर्वाधिक ३८ रन बनाए। १४ बलको सामना गरेका कार्कीले ४ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यसैगरी क्रिजमा कपिल मण्डलले २७ र अमन अलीले २३ रन जोडे ।
आयोजक मिल्सका लागि मुरली चौधरी ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । होराइजनले प्रस्तुत गरेको १ सय ४२ रनका लक्ष्य पछ्याउने क्रममा आयोजक मिल्सको टोली १५ ओभरमा ९७ रनमा समेटियो। क्वाटरफाइनलबाट पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको मिल्सका लागि लक्ष्य पछ्याउने क्रममा सार्थक धितालले २५ रन बनाए ।त्यसैगरी राहुल विकले २४ र सन्तोष चौधरीले २१ रनको योगदान दिए । जित हात पारेको होराइजनका लागि दिपेश कँडेलले ४ ओभरमा १७ रन दिदैं ४ विकेट आफ्नो खातामा दर्ता गराएका थिए ।
होराइजनले बुधबार हुने सेमीफाइनलमा भारतको हाइपर क्रिकेट क्लब पटनासँग स्पर्धा गर्नेछ ।त्यसैगरी आजै भएको दोस्रो खेलमा सिद्धार्थ क्रिकेट क्लब विराटनगरले भारतको मुन क्रिकेट क्लब सुपौललाई ६ विकेटले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको मुन क्रिकेट क्लब सुपौलले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रनका मध्यम योगफल बनाएको थियो। मुनका लागि कमलुद्दिनले २५, र प्रेमकुमारले अविजित २४ रन बनाए ।
सिद्धार्थका लागि नितेश यादवले ४ ओभरमा १९ रन दिदैं ३ विकेट लिए । लक्ष्य पछ्याएको सिद्धार्थको टोलीले १४ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । सिद्धार्थका लागि पप्पु यादव बीले विष्फोटक ब्याटिग गर्दै ५२ रन बनाए ।
२९ बलको सामना गर्दै अर्धशतक पुरा गरेका यादवले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यसैगरी अर्का ब्याट्सम्यान रोशनले ३२ रन बनाए । पराजित हुदै घर फर्किएको मुनका लागि गुलशन राजले २ विकेट लिए । जित हात पारेको सिद्धार्थले अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने सिरहा क्रिकेट क्लब र विराटनगरको वाइआरसीसीबीचको विजेता टोलीसँग सेमिफाइनलमा खेल्नेछ ।