कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने जानकारी दिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ ।
मस्यौदा समितिले चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ । वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ मा घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए ।एकताका लागि मधुवनको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो । पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने चौधरीले बताए ।
जनमत अध्यक्ष राउतले राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व आफ्नो पार्टीले लिने जानकारी दिए । एकीकरणका लागि दुवै पार्टीबीच कुनै माग नभएको उल्लेख गर्दै अध्यक्ष राउतले भने, ‘केही कुरामा समझदारी नभए दुवै पार्टीले अडान छाड्ने छौं । एकीकरणको मुद्दा छिट्टै टुंगाउनेछौं । पहिचानको मुद्दा दुवै पार्टीको हो ।’ मस्यौदा समितिको बैठकमा दुवै पार्टीका उच्चस्तरीय नेता सहभागी छन् ।