घर फर्किने क्रममा बाटोबाट हराएकी एक महिलाको शव एक हप्तापछि जंगलमा गाडिएको अवस्थामा फेला परेको छ।

रौतहटको बृन्दावन नगरपालिका-१ बलेरीखोरकी ४५ वर्षीयf फुलमतिया देवीको शव सोही स्थानको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको हो।

गत चैत १४ गते उनी घरनजिकै जंगल छेउमा बनाएको गोठबाट घर फर्किने क्रममा हराएकी थिइन्। प्रहरीले एक हप्तापछि बिहीबार शव फेला पारेको थियो।

शव गाडेको आरोपमा सोही स्थानका २० वर्षीय जितेन्द्र पटेल र ३० वर्षीय सुशील विश्वकर्मालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।

अनुसन्धानको क्रममा उनीहरुले जंगलमा बदेल मार्न बिछ्याएको नाङ्गो तारमा करेन्ट लागेर फुलमतियाको मृत्यु भएपछि शवलाई खाल्डो खनेर गाडेको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी रायले जानकारी दिए।
56
Shares
२२ चैत्र २०८१, शनिबार ०८:१७