संयुक्त राष्ट्रसंघले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) एआईले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने उल्लेख गरेको छ । राष्ट्रसंघले एआईको विश्वव्यापी बजार सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार अर्थात् ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ। एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै जाने भए पनि विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम उत्तिकै रहेको अधिकारीहरुले उल्लेख गरेका छन् ।

राष्ट्रसंघीय व्यापार र विकास एजेन्सी अंकटाड (यूएनसीटीएडी)ले प्रतिवेदनमार्फत एआईले निकट भविष्यमा पार्नसक्ने सम्भावित असर एवं प्रभावका बारेमा उल्लेख गरेको हो । विशेष गरी प्रतिवेदनमा एआईले उत्पादकत्व वृद्धि प्रदान गर्ने र रोजगारी विस्थापन हुने जोखिम बढेको उल्लेख छ । ‘विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्नसक्छ,’ प्रतिवेदनमा भनिएको छ ।

विभिन्न कुराले रोजगारीमा असर परिरहेको भए पनि एआईले भने सबैभन्दा बढी प्रभाव पार्ने जनाइएको छ । एआईले उन्नत अर्थतन्त्र बढी प्रभावित हुने डर छ । एआईले श्रमभन्दा पुँजीलाई समर्थन गर्ने र असमानतालाई फराकिलो बनाउँदै विकासोन्मुख अर्थव्यवस्थाहरूमा श्रमको प्रतिस्पर्धात्मक फाइदालाई कम गर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

एजेन्सी प्रमुख रेबेका ग्रिन्स्पानले विज्ञप्ति जारी गर्दै एआई विकासको केन्द्रमा मानिसहरू छन् भन्ने सुनिश्चित गर्ने महत्त्वमा जोड दिनुपर्ने उल्लेख गरे । प्रविधिबाट मानिसहरूमा ध्यान केन्द्रित गर्न र देशहरूलाई विश्वव्यापी एआई ढाँचा सहसिर्जना गर्न सक्षम बनाउन बलियो अन्तर्राष्ट्रिय सहयोगको आह्वान उनले गरेका छन्।

‘प्रविधिगत प्रगतिले आर्थिक वृद्धि गर्दा एआईले आफैँमा समान आय वितरण वा समावेशी मानव विकासलाई प्रवर्द्धन गर्दैन भन्ने इतिहासले देखाएको छ’, उनले प्रतिवेदनमा भनेका छन् । उनका अनुसार सन् २०३३ सम्ममा एआई अग्रणी प्रविधि हुनेछ । जसको अनुमानित मूल्य ४८ खर्ब डलर हुने प्रतिवेदनमा जनाइएको छ ।

डिजिटल पूर्वाधारमा लगानी गरेर, क्षमताहरू निर्माण गरेर र एआई शासन सुदृढ गरेर विभिन्न देशहरुको दिगो विकासका लागि एआई क्षमताको उपयोग गर्न सकिने एजेन्सीले उल्लेख गरेको छ । एआईले रोजगारी प्रतिस्थापन गर्ने मात्र नभएर नयाँ उद्योगहरू सिर्जना गर्न र कामदारहरूलाई सशक्त बनाउन सक्नेतर्फ पनि प्रतिवेदन केन्द्रित छ ।

अंकटाडले एआईलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न सबै देशले भाग लिनुपर्ने कुरामा जोड दिएको छ। एआईले विश्वको आर्थिक भविष्यलाई आकार दिइरहेको अंकटाडले उल्लेख गरेको छ ।

21
Shares
२१ चैत्र २०८१, शुक्रबार १४:२०