काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिएको, उनले सम्झौता उल्लंघन गरेको सरकारको निष्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार बोल्दै आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन, पूर्वराजाले फेरि राजा बन्छु भन्ने चाहेको हो भने पछिल्ला शंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भनेका छन् ।

ज्ञानेन्द्र बस्दै आएको निर्मल निवासमा नवराज सुवेदी र दुर्गा प्रसाईंसँग भएको भेटले पनि प्रधानमन्त्रीलाई अझै आशंकित बनाएको छ । उनले संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन निर्मल निवास र निकटस्थहरू नै सक्रिय रहेको विश्लेषण गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले प्रधानमन्त्रीको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । संवाद सचिव फणिराज पाठकले राजनीतिक ढंगबाट आएका वक्तव्यहरूको जवाफ नहुने भन्दै तीनकुने प्रदर्शन र हिंसामा पूर्वराजालाई जोड्न खोजिएकामा आपत्ति जनाए ।

उनले पूर्वराजाबाट आएका धारणा यसअघि नै सार्वजनिक भइसकेको भन्दै राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे ।

‘राजाले दिएको वक्तव्य सार्वजनिक रूपमै आएको छ । त्यसमा कुनै अनौठो कुरा आएको छ र ? तिमीहरू काम लाग्दैनौं म मात्रै काम लाग्छु भनेको छ र ?,’ पूर्वराजा शाहका संवाद सचिव पाठकले अनलाइनखबरसँग भने, ‘देशमा सहजता हुनुपर्‍यो, कसैलाई पनि माइनस गर्ने होइन, बरु त्यसका लागि अझै त्याग गर्नुपर्ने केही छ भने म तयार छु, आउँ छलफल गरौं भन्ने आह्वान छ । कि यसो भन्न पनि हुँदैन ?’
35
Shares
१९ चैत्र २०८१, बुधबार ०६:५४