२०४६ देखि २०६४ सम्म पार्टी राजनीतिमा प्रभावशाली नेताका रुपमा बराल सक्रिय थिए । इमान्दारी, लगनशीलता र निष्ठानको राजनीति गर्ने गुरु बराल नेकपा एमालेको राजनीतिमा करिब ५० वर्षदेखि सक्रिय छन् ।
२०४४ सालमा नेकपा माले मोरङको सचिव बनेका बराल त्यसयता लगातार पार्टीका विभिन्न कमिटीमा आवद्ध भएर काम गरिरहेका छन् । पार्टीको संगठन निर्माण र विस्तारका लागि उनले गाउँ गाउँमा अभियान पनि चलाएका थिए ।२०४६ सालको जनआन्दोलनपछि नेता बराल एमाले मोरङको सचिव भएका थिए । त्यसपछि २०४९ देखि २०७८ सम्म लगातार पार्टीको केन्द्रिय कमिटीमा रहँदै आएका छन् ।
२०५२ सालमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा विजयी भएका बराल पार्टीको १०औं महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै पार्टीको स्थायी कमिटी सदस्य बनेका हुन् ।२९ असार २०८० मा एमालेले बराललाई पार्टीको बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । एमालेको वैचारिक नेता मानिने बराल विद्यार्थी राजनीति हुँदै पार्टीको जिल्ला सचिव बनेका थिए ।
२०५१ सालपछि २०७८ सालसम्म बरालले पाँच वटा चुनावमा प्रतिस्पर्धा गरेका थिए । २०७८ सालमा राष्ट्रियसभा निर्वाचनमा कोशीबाट उम्मेदवार बन्ने अवसर पाएका थिए । २०७९ को स्थानीय र प्रदेशसभा निर्वाचनमा मोरङमा टिकट बाँड्ने जिम्मेवारीमा बराल रहेका थिए । यसैगरी, २०५४ सालमा उनी कोशी प्रदेशमा नेता कार्यकर्ताको मूल्यांकन गरी टिकट बाँड्ने जिम्मेवारीमा थिए ।
बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक हुन् । २०३१ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य निर्वाचित बराल त्यस बेला विद्यार्थीमाझ निकै लोकप्रिय थिए ।
राजतन्त्रका पक्षमा देशमा विभिन्न मागमा प्रदर्शन भइरहेको सन्दर्भमा नेकपा एमालेले काठमाडौं, विराटनगरलगायत देशैभरि गणतन्त्रका पक्षमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
खासगरी पूर्व राजा ज्ञानेन्द्र शाह देशका विभिन्न स्थान पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय भइरहेका छन् । राप्रपा र राजावादी अरु संगठनहरुले मोटरसाइकल र्याली, जुलुस, सभा र छलफल कार्यक्रमलाई तीव्र बनाएका छन् ।
पूर्वराजाको सक्रियता र राजावादीहरुको प्रदर्शनका कारण नेकपा एमाले र अन्य मुख्य दलहरुमा एक खालको तरंग पैदा भएको छ । यस्ता गतिविधिबाट मुलुकमा अस्थिरता बढ्ने भन्दै दलहरुले पूर्वराजालाई हिम्मत भए निर्वाचनमा लडेर आउन सुझाव पनि दिइरहेका छन् ।
यस क्रममा वडादेखि पालिका, नगर, महानगर र सहरका विभिन्न स्थानहरुमा प्रदर्शन, अन्तरक्रिया र कार्यकर्ता भेला जस्ता कार्यक्रम पनि राखिएका छन् । पार्टीको यो अभियानमा पनि बरालले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यकर्ता परिचालन गर्ने बताएका छन् ।