विराटनगर । नेकपा (एमाले) ले गणतन्त्रका पक्षमा देशव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यसअनुसार विराटनगर महानगर कमिटी, मातहतका १९ वटै वडा कमिटीहरु तथा क्रियाशील जनवर्गीय संगठनहरुले कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नगर कमिटी अध्यक्ष रोहित कोईरालाका अनुसार केन्द्रको निर्देशन अनुरुप कार्यक्रम आयोजना गर्न लागिएको हो । केन्द्रीय अभियानलाई निरन्तरता दिन विराटनगर महानगर कमिटीको विशेष तयारी भइरहेको अध्यक्ष कोइरालाले बताए । गणतन्त्रको पक्षमा जनसचेतना वडा वडामा आयोजना गरिने उनले बताए ।

चैत १४ गते महानगर कमिटीको आयोजनामा जनसंगठनहरुको संयुक्त बैठक र वडा वडामा जनसंगठनहरुको भेला बैठक गरिने भएको छ। महानगर कमिटीको आयोजनामा चैत १७ गते हुने सरसफाई कार्यक्रम गरिने छ।

यस्तै, जिल्ला कमिटीको आयोजनामा चैत्र १८ गते बिराटनगरमा हुने मोरङ जिल्लास्तरीय बृहत् सभाको तयारी पनि भइरहेको अध्यक्ष कोइरालाले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालयका अनुसार चैत ११ गते देशभरका सबै वडाहरुमा एकसाथ जनसचेतना कार्यक्रम भइरहेको छ । चैत १२ देखि १८ गतेसम्म नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर संवाद कार्यक्रम गरिने भएको छ।

चैत १८ गते देशभरका जिल्लामा जनप्रदर्शन र जागरणसभा गरिने भएको छ। यी कार्यक्रम काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका जिल्लामा हुने पार्टीले जनाएको छ ।

उक्त सभा नहुने जिल्लाहरुमा मोटरसाइकल र्याली आयोजना गरिने भएको छ। यस्तै, चैत २४ गतेदेखि ३० गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा आयोजना गरिने भएको छ । काठमाडौं उपत्यकामा पनि विशेष सभा आयोजना गरिने तर मिति पछि सार्वजनिक गरिने पार्टीले जनाएको छ ।

2.38k
Shares
१० चैत्र २०८१, सोमबार १४:४८