विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको ३ दिने ढाका महोत्सव बिहीबार (आज) देखि विराटनगरमा सुरु भएको छ । ‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि ढाका महोत्सवको आयोजना गरिएको बताइएको छ ।

महोत्सवको उद्‌घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने गरी बजेट विनियोजन गर्ने बताए ।

उनले त्यसका लागि ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिन आग्रह गरे । 

प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार रहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यो साथ र सहयोग भोलिका दिनमा रहने छ । अहिले पनि प्रदेशको ३ वटा मन्त्रालय महोत्सवमा जोडिएको छ । ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्न सक्ने भए यहाँबाटै र केन्द्रबाट गर्नुपर्ने भए म त्यसका लागि केन्द्र पनि पहल गर्छु ।’ 

ढाका उद्योगको विकास, विस्तारका लागि प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्ने मुख्यमन्त्री कार्कीले बताए । 

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए ।

उनले ढाका कपडाको प्रवर्धन, स्थानीय महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाको खोजी तथा नेपाली महिलालाई उद्यमशीलतामा सशक्त बनाउनका लागि कोशी प्रदेशमा पहिलो पटक ढाका महोत्सवको आयोजना गरेको प्रस्ट्याए । 

नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए । महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेसन सो, व्यापार तथा लगानी प्रवर्धन, व्यवसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ । 

महोत्सवमा कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभालगायत क्षेत्रका ढाका उद्यमीहरुकाे सहभागिता रहेकाे छ । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ । 

1.35k
Shares
७ चैत्र २०८१, शुक्रबार २१:२१