विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबलको फाइनलमा गाईघाटको फ्युजन फुटबल क्लब पुगेको छ ।  प्रतियोगिताअन्तर्गत बिहीबार जुट मिलको खेल मैदानमा खेलमा गाईघाटले सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरमा हराउँदै फाइनलमा पुगेको हो ।

गाईघाटले उपाधि जितका लागि शुक्रबार हुने घरेलु टोली पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेतासँग खेल्ने छ ।  गाईघाटका लागि रितेश तामाङले २ गोल, सुनिल खड्का, दीपक मगर र दिवस राईले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । इटहरीका लागि सुजन मगरले सान्त्वना गोल गरे ।  

खेल ९ औं मिनेटमा गाईघाटका रितेशले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दीपक मगरले मिलाइ दिएको पासमा उनले गोल गरे ।  ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्सभित्र लडाएपछि रेफ्री अनिल खवासले पेनाल्टी दिए ।

६१ औं मिनेटमा गाईघाटका रितेस पुनः टोलीका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । लगत्तै सुनिल खड्काले गोल गर्दै अग्रता तेब्बर बनाए । दीपक मगर र दिवस राईले खेलको अतिरिक्त समयमा समान १–१ गोल थपे । गाईघाटका रितेश तामाङ म्यान अफ द म्याच हुँदै २ हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
7
Shares
७ चैत्र २०८१, शुक्रबार ०९:४३