परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा तयारी पूरा भइसकेको र सबै केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बरसहित अन्य आवश्यक सामग्री पुगिसकेको जानकारी दिए ।
पौडेलका अनुसार यसवर्ष ५ लाख १४ हजार ७१ जना परीक्षार्थीले एसईई दिँदैछन् । गतवर्ष ४ लाख ६४ हजार ७ सय ८५ जनाले परीक्षा दिएका थिए । यसवर्ष ४९ हजार २ सय ८६ जना बढी विद्यार्थीले एसईई दिने छन् ।चैत १९ गते सम्पन्न हुने एसईईका लागि मुलुकभर २ हजार ७९ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यालय बाहिर बाल सुधारगृह र कारागार गरेर ३ वटा केन्द्र कायम गरिएको छ । काठमाडौं र दैलेखका २ कारागार तथा भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था मिलाइएको पौडेलले बताए ।
परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।