बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जानुभएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।
डिभिजन वन कार्यालय मोरङको तथ्यांकअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए । जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । “हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ”, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउँछन् । दिउँसो जंगलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताए । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।