वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख वसन्त केशव अधिकारीले बताए।
जसअन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यसा गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका गरिने जनाइएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताए।वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोको उच्च जोखिम भएका जिल्लाहरू मध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व) १६ औँ स्थानमा रहेको छ । जिल्लामा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन छन् । जिल्लाको कुल भूभागको ५८ प्रतिशत वन क्षेत्रले ढाकेको छ ।