आज मुख्यतः पहाडी क्षेत्र, हिमाली क्षेत्र र काठमाडौं उपत्यकामा होली पर्व मनाइँदैछ । भोलि तराईका जिल्लाहरुमा होली पर्व मनाइन्छ ।
यसै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन्।नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पनि होलीको अवसरमा शुभकामना दिएका छन् । उनले रंगहरुको पर्व होलीमा विभेद र असमानतालाई अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेता बरालले लेखेका छन्, ‘रङ्गहरूको पर्व होलीमा विभेद र असमानतालाई अन्त्य गरी समानता, सद्भाव र सामाजिक एकताको लागि हार्दिक शुभकामना ।’रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।