विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको चैत्र ५ गते हुने निर्वाचनका लागि मोरङका आङ्गिक र सामुदायिक क्याम्पसहरुमा उम्मेदवारी दर्ता भएको छ । मोरङमा ३ वटा आङ्गिक र ८ वटा सामुदायिक गरि कुल ११ वटा क्याम्पसमा उम्मेदवारी दर्ता भएको हो । महेन्द्र मोरङ क्याम्पसमा मनोनयन दर्ता भएपनि नेपाल विद्यार्थी संघकाे विवादका कारण उम्मेदवारको नामावली सार्वजनिक भएको छैन ।

आङगिकतर्फ विराटनगरको नर्सिङ क्याम्पस, स्नातकोत्तर क्याम्पससहित ८ वटा सामुदायिक क्याम्पसमा निर्वाचनको वातावरण बनेको छ । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा भने नेविसंघको आन्तरिक विवादका कारण मनोनयन गरिएका उम्मेदवारहरुको नामावली सार्वजनिक नभएकाे हाे ।

क्याम्पस स्थित निर्वाचन अधिकृत सुशील अधिकारीका अनुसार नेवि संघबाट दुई प्यानलले उम्मेदवारी दर्ता गराएपछि विवाद भएको हो । मंगलबार नभएपछि बुधबार नाम सार्वजनिक गर्ने तयारी भएको उनले बताए । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ५ विद्यार्थी संगठनले मनोनयन दर्ता गराएको बताएका निर्वाचन अधिकृत अधिकारीले १५ जना कार्यसमितिका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ७ जना निर्वाचित हुने जानकारी दिए ।

महेन्द्र मोरङमा स्ववियु निर्वाचनलाई विद्यार्थीबीच विवाद रहेको छ । केही साताअघि नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेललाई क्याम्पसभित्रै नेविसंघका विद्यार्थीले कुटपिट गरेका थिए । पोखरेललाई अध्यक्षबाट हटाउँदै नेविसंघका १२ जना केन्द्रीय सदस्यहरुले मोहम्मद तनवीरलाई अध्यक्ष बनाएका थिए । त्यसपछि क्याम्पसमा दुई खेमाबीच विवाद भएको थियो ।

विराटनगरकै स्नातकोत्तर क्याम्पसमा नेवि संघबाट विराज बरालले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत प्राध्यापक डा. अनिल पोखरेलले जानकारी दिए । क्याम्पसमा अनेरास्ववियु र समाजवादी विद्यार्थी संगठनबाट संयुक्त रुपमा अध्यक्षमा निर्मल भण्डारीलाई अघि सारेको छ । त्यसैगरि अखिल क्रान्तिकारी बाट अध्यक्षमा प्रितम साह रहेका छन् ।
49
Shares
२८ फाल्गुन २०८१, बुधबार ०७:४८